काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको परराष्ट्र नीतिप्रति गम्भीर प्रश्न उठाउँदै नेपालले दशकौँदेखि अवलम्बन गर्दै आएको स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीतिबाट सरकार विचलित हुन थालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले हालै नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मजयन्ती सरकारी अनुमतिमा मनाइएको र कार्यक्रममा पश्चिमा मुलुकका कूटनीतिक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको घटनालाई सामान्य रूपमा लिन नसकिने बताएका छन्।
उनले दलाई लामासम्बन्धी पछिल्ला गतिविधि, उनको पक्षबाट आएका विभिन्न सन्देश तथा उत्तराधिकारी नेपालमै घोषणा हुन सक्ने चर्चा भइरहेका बेला सरकारले जन्मजयन्ती कार्यक्रमलाई अनुमति दिनु नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनको संकेत भएको दाबी गरेका छन्।
श्रेष्ठका अनुसार सरकारले असंलग्न परराष्ट्र नीतिलाई औपचारिक नारामा मात्र सीमित राख्दै व्यवहारमा कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थअनुसार अघि बढ्न खोजेको देखिएको छ। यस्तो प्रवृत्तिले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र स्वतन्त्र निर्णय क्षमतामाथि गम्भीर चुनौती उत्पन्न हुन सक्ने उनको भनाइ छ।
उनले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीताविपरीत कुनै पनि कदम देशका लागि स्वीकार्य नहुने स्पष्ट पार्दै नेपाललाई कुनै शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धाको मैदान बनाउन खोजिए त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्।
श्रेष्ठले सरकारलाई नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्दै राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन सचेत गराएका छन्।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया