काठमाडौं । प्रतिनिधिसभामा जेठ १७ गते भएको हंगामा र धकेलाधकेलको घटनाबारे छानबिन गर्न गठित समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सभामुखले आफ्नो विशेषाधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिएको छ।
समितिले संसद्को मर्यादा विपरीत उत्तेजक वा अमर्यादित अभिव्यक्ति आएमा प्रतिनिधिसभा नियमावलीको कडाइका साथ कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउनेदेखि आवश्यक परे सम्बन्धित सांसदलाई बैठकबाट निष्कासन गर्नेसम्मका अधिकार प्रयोग गर्नुपर्ने सिफारिस गरेको छ।
प्रतिवेदनमा सांसदहरूको अभिमुखीकरण, संसदीय आचारसंहिताप्रति सचेतना अभिवृद्धि, राजनीतिक दलका नेता तथा प्रमुख सचेतकको भूमिका थप प्रभावकारी बनाउने, आचरण अनुगमन संयन्त्रलाई सक्रिय बनाउने तथा संसद्को अनुशासन सुदृढ गर्नुपर्ने सुझाव पनि समेटिएको छ।
त्यसैगरी संसद् सचिवालयको जनशक्ति र प्रविधि व्यवस्थापन सुदृढ गर्ने, सीसीटीभी निगरानी तथा अभिलेख प्रणालीलाई व्यवस्थित बनाउने, अन्तर्राष्ट्रिय असल अभ्यास अपनाउने, राजनीतिक दलभित्र अनुशासन र उत्तरदायित्व बढाउने तथा कार्यव्यवस्था परामर्श समितिको भूमिका अझ प्रभावकारी बनाउने आवश्यकता औंल्याइएको छ।
प्रतिनिधिसभामा जेठ १७ गते नियमावली पारित गर्ने क्रममा सत्ता र विपक्षी सांसदबीच चर्को विवाद, धकेलाधकेल र अव्यवस्था भएको थियो। त्यसलगत्तै जेठ १८ गते सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिले घटनास्थलको अध्ययन, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित कागजातको विश्लेषणपछि प्रतिवेदन तयार गरी जेठ २५ गते सभामुखसमक्ष बुझाएको थियो।
प्रतिवेदनमा उक्त दिन संसद्मा संसदीय मर्यादा उल्लङ्घन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको, संयमको अभाव रहेको तथा व्यवस्थापकीय पक्षमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार











प्रतिक्रिया