काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट राजनीतिक दलहरू अन्ततः बाहिरिने अवस्था आउने विषय आफूहरूले धेरैअघि नै अनुमान गरेको बताएका छन्। उनले यही कारण कांग्रेसले कार्यदलमा सहभागी नभई आफ्नै ढंगले संविधान संशोधनसम्बन्धी बहस अघि बढाएको स्पष्ट पारे।
बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले कार्यदलको भविष्यबारे वैशाख महिनामै कांग्रेस स्पष्ट रहेको बताए।
‘आज सबै दलले ढिलै भए पनि आफ्ना प्रतिनिधि फिर्ता बोलाइसकेका छन्। यस्तो अवस्था आउने कुरा हामीलाई वैशाखमै थाहा थियो,’ उनले भने, ‘त्यसैले हामीले कार्यदलमा प्रतिनिधि पठाएनौं, बरु आफ्नै पार्टीभित्र र अन्य सरोकारवालासँग संविधान संशोधनबारे छलफल अघि बढायौं।’
थापाका अनुसार संविधान संशोधन प्रक्रिया सुरु गर्न कांग्रेसले सुरुदेखि नै दुईवटा विकल्प अघि सारेको थियो। पहिलो, बहालवाला वा अवकाशप्राप्त सर्वोच्च अदालतका न्यायाधीश तथा संविधानविद् सम्मिलित विज्ञ समिति गठन गर्ने, र दोस्रो, संघीय संसद्भित्रै विशेष समिति बनाएर संशोधन प्रक्रिया अघि बढाउने।
उनले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई गम्भीर र संस्थागत ढंगले अघि बढाउन यी दुई विकल्प उपयुक्त हुने धारणा राखे।
सभापति थापाले संशोधन प्रक्रिया प्राथमिकताका आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै पहिलो चरणमा संविधानमै उल्लेख गरिएको दशवर्षे पुनरावलोकनसँग सम्बन्धित विषयहरू संशोधन गर्नुपर्ने बताए।
उनले त्यसपछि मात्रै विश्वासको वातावरण निर्माण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता लगायतका जटिल विषयमा प्रवेश गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे।
‘सबै विषय एकैपटक खोल्ने प्रयास गरियो भने मुलुक अनावश्यक विवाद र द्वन्द्वतर्फ धकेलिन सक्छ,’ थापाले भने।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया