काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले पार्टीको एकता, आन्तरिक सुदृढीकरण र संगठनलाई थप मजबुत बनाउने उद्देश्यले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
संघीय संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्री बन्ने सर्तमा उम्मेदवारी फिर्ता लिएको भन्ने चर्चा निराधार रहेको स्पष्ट पारे।
बुर्लाकोटीले रास्वपाको प्रथम महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दाबेदारी स्वाभाविक भए पनि सोही पदमा अन्य नेताहरूको पनि आकांक्षा देखिएकाले पार्टीभित्र एकता कायम राख्न आफूले व्यक्तिगत दाबी त्यागेको बताए।
‘पार्टी अझ सुदृढ, एकताबद्ध र देश निर्माणमा प्रभावकारी शक्ति बनोस् भन्ने उद्देश्यले मैले उम्मेदवारी फिर्ता लिएको हुँ। मन्त्री बन्ने सर्तमा कुनै सहमति भएको भन्ने प्रचारमा कुनै सत्यता छैन,’ उनले भने।
सुकुम्बासी समस्या समाधानका विषयमा बोल्दै बुर्लाकोटीले सरकार यसप्रति गम्भीर रहेको र दीर्घकालीन समाधानका लागि आवश्यक पहल भइरहेको बताए।
रास्वपाको विधानमा संसदीय दलको नेता फिर्ता बोलाउने व्यवस्था गरिएको विषयमा पनि उनले प्रष्टिकरण दिए। उनका अनुसार पार्टी सभापतिलाई विधानको संरक्षकको रूपमा परिकल्पना गरिएको छ र पार्टीको नीति, निर्णय तथा निर्देशनभन्दा बाहिर कसैले जान नपाउने सिद्धान्तलाई संस्थागत गर्न उक्त व्यवस्था गरिएको हो।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया