काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको नभएको राहदानी विभागले स्पष्ट पारेको छ।
विभागले विज्ञप्ति जारी गर्दै सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त जानकारीका आधारमा घाइते व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको नदेखिएको जनाएको हो।
प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले राहदानी विभागको प्रवेशद्वार बाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। उनी पठाओ चालक रहेको खुलेको छ।
घटनापछि प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। हाल उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
राहदानी विभागले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया