काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवर्तमान मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको स्वागत गरिएको छ।
कार्यक्रममा अर्यालले लामो निजामती सेवापछि अवकाश लिन लागेकामा राज्य र जनताको सेवामा योगदान गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे। उनले जेन–जेड आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थामा पनि राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूको सहयोगमा जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले सरकार परिवर्तन भए पनि कर्मचारीतन्त्र राज्यको स्थायी संयन्त्र भएकाले सुशासन र सेवा प्रवाहमा यसको भूमिका महत्वपूर्ण रहने बताए। उनले कार्यसम्पादनका आधारमा कर्मचारीको मूल्यांकन हुनुपर्ने धारणा पनि राखे।
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीले इमानदारी, निष्पक्षता र जवाफदेहिताका साथ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै निजामती सेवा सुधारका सरकारी नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए।
कार्यक्रममा प्रधानमन्त्रीको तर्फबाट सल्लाहकार शाहले निवर्तमान मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरेका थिए भने कार्यालयका कर्मचारी र सचिवहरूले उनको योगदानको प्रशंसा गर्दै कार्कीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया