काठमाडौं । राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा अनुसन्धान अघि बढाउँदै प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनाबारे अनुसन्धान गर्न दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई हाल कालीमाटी प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गम्भीर रूपमा जलेका थिए। उनलाई तत्काल वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रारम्भिक जानकारीअनुसार नेपाली राइड सेयरिङ सेवामा आबद्ध थिए। घटनाका दिन राहदानी विभाग अगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि सुरक्षाकर्मीसँग विवाद भएको बताइएको छ।

त्यसपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको उनका आफन्तको दाबी छ। घटनाको वास्तविक कारण, नगर प्रहरीको भूमिका तथा त्यसअघि भएका घटनाक्रमबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com