काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले गणेश नेपाली आत्मदाहसम्म पुग्न बाध्य हुनुका कारण गम्भीर रूपमा खोजी गर्न सरकारसँग आग्रह गरेकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद दर्शनाले घटनालाई उपचार खर्च बेहोरेर मात्रै टुंग्याउन नहुने बताएकी हुन्। उनले गणेश नेपालीलाई यस्तो चरम कदम चाल्न बाध्य बनाउने परिस्थिति पहिचान गरी त्यसबाट सरकारले नीति निर्माणमा पाठ सिक्नुपर्नेमा जोड दिइन्।
उनले लेखेकी छन्, ‘गणेश नेपालीको आत्मदाहलाई उपचार खर्च व्यहोरेर मात्रै सीमित गर्न मिल्दैन। उहाँ किन आफूलाई जलाउने अवस्थासम्म पुग्नुभयो भन्ने गम्भीर रूपमा खोजिनुपर्छ। त्यसबाट सरकारले आफ्ना नीति र काम गर्ने शैलीमा सुधार गर्ने प्रेरणा लिनुपर्छ।’
दर्शनाले नेपालका लाखौं युवाले दैनिक रूपमा निराशा र असहायताको भावना बोकेर बाँचिरहेको उल्लेख गर्दै उनीहरूको जीवन सहज बनाउने नीतिगत हस्तक्षेप आवश्यक रहेको बताइन्।
‘एक जना गणेशले त आफ्नो शरीर नै जलाए, तर दैनिक “मैले सकिन, मरौं कि क्या हो” भन्ने सोचसँग संघर्ष गरिरहेका लाखौं युवाका लागि सरकारले आशा जगाउने नीति ल्याउनुपर्छ,’ उनले भनिन्।
उनले मानसिक स्वास्थ्यको समस्या केवल मनोपरामर्शबाट मात्र समाधान नहुने उल्लेख गर्दै सामाजिक र आर्थिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। उनका अनुसार आधारभूत आवश्यकता पूरा हुन सके मानिसको आत्मविश्वास र मानसिक सुरक्षा पनि बलियो बन्नेछ।
सांसद दर्शनाले गरिब, श्रमिक तथा विपन्न समुदायको पीडा राज्यले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा पनि सरकार अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरिन्।
उनले सरकारबाट सय दिनमै आमूल परिवर्तन वा लाखौं रोजगारी सिर्जना हुने अपेक्षा यथार्थपरक नभए पनि श्रमजीवी, गरिब र संकटमा परेका नागरिकको पीडा कम गर्ने काम तत्काल सम्भव रहेको उल्लेख गर्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताइन्।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया