काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासका लागि ऊर्जा क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले आन्तरिक विकाससँगै नेपालको निर्यात व्यापार विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए।
ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्रममा देखिएका चुनौती, अवसर र निजी क्षेत्रले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरेर आवश्यक सहजीकरण गरिने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा कार्यान्वयनसम्बन्धी समस्या समाधानतर्फ सरकार सक्रिय रहने बताए।
छलफलमा जलविद्युत् विकास, ऊर्जा क्षेत्रमा निजी लगानी, औद्योगिक प्रवर्द्धन, वातावरणीय व्यवस्थापन तथा ऊर्जा उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
इपानका पदाधिकारीहरूले विद्युत् खरिद सम्झौता (पीपीए) लाई सहज बनाउने, रोकिएका जलविद्युत् आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँचको समस्या समाधान गर्ने, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया सरल बनाउने, जग्गा प्राप्ति र अनुमतिपत्र नवीकरणमा सहजीकरण गर्ने तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्नुपर्ने विषय उठाएका थिए।
उनीहरूले ऊर्जा क्षेत्रमा लगानी सुरक्षाको प्रत्याभूति र थप लगानीमैत्री वातावरण निर्माणका लागि सरकारसँग आवश्यक नीतिगत सुधार गर्न पनि आग्रह गरेका थिए।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की र महासचिव टीएन आचार्यलगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया