काठमाडौं । नेकपा (एमाले)ले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि एमालेले आग्रह गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा २५ वर्षीय गणेश नेपालीको आत्मदाहको घटनाले समग्र देशलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा राज्य संयन्त्रको व्यवहारका कारण नागरिक निराशा र मानसिक दबाबमा पर्न बाध्य भएको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सम्मानपूर्वक श्रम गरेर बाँच्ने वातावरण सिर्जना गर्नुको सट्टा राज्य संयन्त्रबाट निरन्तर निराशा र प्रताडना दिइँदा गणेश नेपालीजस्ता युवाले आत्मघाती निर्णय लिन बाध्य भएको देखिन्छ।’

एमालेले वर्तमान सरकारमाथि जनविरोधी र गरिबमुखी नभएको आरोपसमेत लगाएको छ। सुकुम्बासी बस्ती हटाउने नाममा वर्षायामको बीचमा हजारौं नागरिकलाई घरबारविहीन बनाइएको दाबी गर्दै त्यसले उनीहरूको आवास र शिक्षाजस्ता मौलिक अधिकारसमेत प्रभावित भएको जनाएको छ।

विज्ञप्तिमा सरकारले अपनाएको कार्यशैलीका कारण सुकुम्बासी समुदायका केही नागरिकले आत्महत्याजस्तो दुःखद निर्णय लिन बाध्य भएको र धेरै नागरिक मानसिक तनाव तथा डिप्रेसनको सिकार बनेको आरोप पनि लगाइएको छ।

एमालेले सरकार गठनपछि उचित व्यवस्थापनको अभाव, विस्थापनको त्रास र मानसिक दबाबका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्वल तामाङलगायतले ज्यान गुमाएको उल्लेख गर्दै त्यसप्रति सरकार जिम्मेवार हुनुपर्ने जनाएको छ।

त्यस्तै, राज्यले स्थापना गरेका अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हतारमा हट्न दबाब दिने, धम्की दिने तथा भोकमरीको जोखिममा पार्ने कार्य अमानवीय भएको एमालेको निष्कर्ष छ।

एमालेले गणेश नेपालीको घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको सुनिश्चितता गर्न तथा यस्ता घटना दोहोरिन नदिने गरी राज्य संयन्त्रमा सुधार गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com