काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरोजस्ता विपद्का बेला सरकारले प्रभावकारी रूपमा उद्धार, राहत तथा स्रोत परिचालन गर्न नसकेको आरोप लगाएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले विपद् व्यवस्थापनमा सरकारको कमजोरी देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘एक्लै काफी छु’ भन्ने मानसिकता त्याग्न आग्रह गरिन् ।

‘म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस् प्रधानमन्त्रीज्यू ! देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन,’ उनले भनिन् ।

सरकारले केही कामै नगरेको आरोप आफूले नलगाएको स्पष्ट पार्दै अर्यालले समयमै छलफल, समन्वय र आवश्यक स्रोत परिचालन गर्न नसक्दा विपद्बाट ठूलो क्षति भएको बताइन् ।

जोखिममा परेका नागरिकको तत्काल उद्धारका लागि पर्याप्त जनशक्ति, हेलिकप्टर तथा डुङ्गा परिचालन गर्न नसकिएको भन्दै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइन् ।

देशमा पर्याप्त उद्धार उपकरणको अभाव रहेको अवस्थामा छिमेकी तथा अन्य मुलुकबाट आवश्यक सहयोग लिन हिचकिचाउन नहुने उनको भनाइ थियो । सीमित निकायमा मात्रै निर्भर हुँदा उद्धार तथा राहत प्रभावकारी हुन नसकेको उनले बताइन् ।

तीन तहका सरकार तथा स्वयंसेवी संस्थालाई एउटै सूचना र कमान्ड प्रणालीमा जोड्न नसक्नु विपद् व्यवस्थापनमा सरकारको मुख्य कमजोरी रहेको अर्यालको दाबी थियो ।

विपद्मा आफैँ प्रभावित भएका स्थानीय तहलाई केन्द्र सरकारले दोष थोपर्ने प्रयास गरेको भन्दै उनले आपत्तिसमेत जनाइन् ।

‘स्थानीय तह तहसनहस भएको छ, जनप्रतिनिधि र कर्मचारी आफैँ बेपत्ता र पीडित छन्,’ उनले भनिन्, ‘परिवार गुमाएर पनि अहोरात्र उद्धारमा खटिएका तिनै स्थानीय तहलाई फर्केर ‘किन गरिनस्’ भन्नु कति शोभनीय हुन्छ ?’

सांसद अर्यालले विपद्मा पीडित नागरिकका आँसुमा राजनीतिक रङ नखोज्न सरकारलाई चेतावनी दिइन् । सरकारको बचाउ गर्ने नाममा पीडित नागरिकमाथि सामाजिक सञ्जालमार्फत अश्लील तथा अमर्यादित टिप्पणी हुनु दुःखद भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको नामबाट सञ्चालित सामाजिक सञ्जालका खाताबाट समेत आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक हुनु अशोभनीय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री सबै नागरिकका अभिभावक भएकाले उनका अभिव्यक्तिले पीडितको घाउमा मलम लगाउनुपर्ने बताइन् ।

‘प्रधानमन्त्री देशका सबै नागरिकको अभिभावक हो । उहाँको बोलीले घाउमा मलम लगाउनुपर्छ, झन् गहिरो बनाउनु हुँदैन,’ अर्यालले भनिन् ।

प्रकाशित मिति: ३० भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com