काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बमले गणेश नेपाली आत्मदाहजस्तो चरम निर्णयमा पुग्नुको प्रमुख कारण राज्यको असंवेदनशील व्यवहार र काठमाडौं महानगरबाट सुरु भएको कठोर प्रशासनिक शैली रहेको आरोप लगाइन्।

उनले प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरको नेतृत्वमा रहँदा नगर प्रहरीमार्फत गरिब, सडक व्यापारी र सुकुम्बासीमाथि अपनाएको व्यवहार अहिले पनि निरन्तरता पाएको दाबी गरिन्। ‘महानगरको कार्यशैलीले कमजोर वर्गको आत्मसम्मानमा निरन्तर चोट पुर्‍यायो। मानवीय संवेदनाभन्दा बल प्रयोगलाई प्राथमिकता दिइयो,’ उनले उल्लेख गरेकी छन्।

रक्षा बमले चुनावअघि सडक व्यापारी व्यवस्थापनलाई सहज रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका बालेन्द्र शाह नेतृत्वमा पुगेपछि त्यसबाट विचलित भएको आरोपसमेत लगाएकी छन्। उनका अनुसार सत्ता सम्हालेपछि जनमुखी दृष्टिकोणभन्दा कठोर प्रशासनिक शैली हाबी भएको छ।

उनले वर्तमान कार्यशैलीमा परिवर्तन नआए यस्ता दुःखद घटना दोहोरिन सक्ने चेतावनी दिँदै राज्यले आफ्ना कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्। ‘नीति र व्यवहारमा सुधार नभएसम्म यस्ता पीडादायी घटना दोहोरिने जोखिम रहन्छ,’ उनको भनाइ छ।

बमले गणेश नेपालीको मृत्युपछि घटनाको मूल कारणभन्दा अन्य विषयमा बहस केन्द्रित गरेर जनध्यान मोड्ने प्रयास हुन सक्ने आशंका पनि व्यक्त गरेकी छन्। घटनाको निष्पक्ष समीक्षा गर्दै जिम्मेवार निकायले आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिएकी छन्।

मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारका क्रममा निधन भएको थियो। घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म राज्यको जवाफदेहिता, सार्वजनिक निकायको व्यवहार र नागरिकप्रतिको संवेदनशीलताबारे व्यापक बहस भइरहेको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com