काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सार्वजनिक रूपमा अत्यावश्यक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालका सामग्री निर्माता (युट्युबर) लाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई ५० हजार रुपैयाँ जरिबाना हुनुपर्ने भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर विवाद चर्किएपछि मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो घोषणा गरेका हुन्।

उनले अबदेखि राष्ट्रिय महत्वका अत्यावश्यक सार्वजनिक विषयबाहेक कुनै पनि पत्रकार, युट्युबर वा अन्य सामाजिक सञ्जाल माध्यमलाई आफूले एक शब्द पनि अन्तर्वार्ता नदिने स्पष्ट पारेका छन्।

‘आजदेखि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि ठूला–साना युट्युबर, सामाजिक सञ्जाल वा पत्रकारलाई एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन,’ मन्त्री पुनले एक्समा लेखेका छन्।

पुनका अनुसार केही दिनअघि ट्राफिक जरिबानासम्बन्धी विषयमा आफूलाई जानकारी नभएको बताउँदा पनि अन्तर्वार्ताका क्रममा लगातार प्रश्न सोधिएपछि प्रसङ्गले अनपेक्षित मोड लिएको थियो। उनले आफूले ५० हजार रुपैयाँ जरिबानाको प्रस्ताव नगरेको दाबी गर्दै अटेर गर्नेहरूलाई कडा कारबाही हुनुपर्ने आशय मात्र व्यक्त गरेको बताएका छन्।

यससँगै मन्त्री पुनले ५० हजार रुपैयाँ जरिबानाको विषयमा दिएको अभिव्यक्ति औपचारिक रूपमा फिर्ता लिँदै त्यसबाट कसैको भावना आहत भएको भए क्षमायाचना गरेका छन्।

‘अन्तर्वार्ताका क्रममा ५० हजार रुपैयाँ जरिबानाको कुरा बोलेको अभिव्यक्ति फिर्ता लिन्छु। अज्ञानतावश त्यसबाट कसैलाई चोट पुगेको भए क्षमा चाहन्छु,’ उनले उल्लेख गरेका छन्।

साथै, ट्राफिक नियमको पालना गर्नुपर्ने दायित्व सबै नागरिकको भएकाले नियम उल्लङ्घन गर्नेहरूले पनि आफ्नो व्यवहारबारे आत्ममूल्यांकन गर्नुपर्ने मन्त्री पुनको भनाइ छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com