काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले मुलुकमा राजनीतिक दलहरूप्रति नागरिकको बढ्दो निराशा लोकतान्त्रिक व्यवस्थाका लागि सकारात्मक संकेत नभएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनका अनुसार अहिले देखिएको जनमानसको असन्तुष्टि सामान्य नभई गम्भीर रूपमा लिनुपर्ने अवस्था हो।

‘देशमा जे भइरहेको छ, त्यो सबै ठीक भएको छैन। पहिलेका पनि खराब, अहिलेका पनि उस्तै, कुनै पनि राजनीतिक दलप्रति विश्वास गर्न नसकिने भन्ने धारणा विस्तार हुँदै जानु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ उनले लेखेका छन्।

खनालले वर्तमान परिस्थितिलाई सुधार्ने प्रमुख जिम्मेवारी सरकारकै काँधमा रहेको उल्लेख गर्दै जनविश्वास पुनः स्थापित गर्न सत्तापक्षले व्यवहारमै परिवर्तन देखाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले सरकारका केही मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन्। ‘अहिलेको अवस्था सुधार्ने पहिलो दायित्व सरकारकै हो,’ उनले भनेका छन्, ‘तर केही मन्त्रीमा अपेक्षित विनयशीलता र जिम्मेवारीबोध देखिन सकेको छैन।’

जनताको विश्वास कायम राख्न सरकार जिम्मेवार, उत्तरदायी र संयमित बन्नुपर्नेमा खनालले जोड दिएका छन्।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com