काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका जटिल र बहुआयामिक समस्याको समाधानका लागि प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रका चुनौती समाधान गर्न आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने विश्वास दिलाएका हुन्।

भेटका क्रममा महासंघका अध्यक्ष सिटौलाले विशेषगरी बागमती प्रदेश र काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक व्यवस्थापनको समस्या, सडक दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदान गरिने क्षतिपूर्ति तथा घाइतेहरूको उपचारका क्रममा व्यवसायीले भोग्नुपरेका कठिनाइबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

उनले दुर्घटनामा घाइते भएकाहरूलाई महँगा निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको र बीमामार्फत अधिकतम तीन लाख रुपैयाँ मात्रै उपलब्ध हुने व्यवस्था पर्याप्त नभएकाले यातायात व्यवसायी आर्थिक रूपमा मारमा परेको गुनासो गरे।

जवाफमा मुख्यमन्त्री बानियाँले दुर्घटनापछि घाइतेहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन प्रदेश सरकार मातहतका अस्पतालमा ट्रमा सेन्टर स्थापना तथा विस्तार गर्ने योजना रहेको जानकारी दिए। साथै, घाइतेहरूको उपचारलाई पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमै उपचार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने स्पष्ट पारे।

मुख्यमन्त्री बानियाँले संघीय राजधानीसमेत समेटिएको बागमती प्रदेशमा देशभरका कुल सवारीसाधनको ६० प्रतिशतभन्दा बढी चाप रहेकाले यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गरे। यद्यपि, ती चुनौतीलाई चरणबद्ध रूपमा समाधान गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन प्रदेश सरकार व्यवसायीसँग निरन्तर सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com