काठमाडौं। ‘कमन जेन–जी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको १०० दिने कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारका गतिविधि नसच्याए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
शनिबार जारी विज्ञप्तिमा संगठनले सरकारको कार्यशैली जनविरोधी र निरंकुश बन्दै गएको आरोप लगाउँदै सुशासन, रोजगारी र नागरिक अधिकारका सवालमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको जनाएको छ।
संगठनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणप्रति गम्भीर दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारको दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, उक्त घटनाबारे गृहमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेको छ।
कमन जेन–जी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह तथा इन्चार्ज कृष्णमोहन सहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले नागरिकमैत्री नीति अवलम्बन नगरे सडक आन्दोलन सुरु गरिने चेतावनी दिइएको छ।
विज्ञप्तिमा प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदादेखि नै प्रहरीको दमनकारी शैली सुरु भएको दाबी गर्दै अहिले त्यसकै निरन्तरता देखिएको आरोप लगाइएको छ।
संगठनले सरकारको १०० दिनको अवधिमा जनपक्षीय उपलब्धि नभएको दाबी गर्दै सुकुम्बासीमाथि डोजर प्रयोग, सार्वजनिक निकायका पदाधिकारीमाथि हस्तक्षेप, कर्मचारीमाथि दबाब तथा युवाका लागि रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम नल्याएको आरोप पनि लगाएको छ।
त्यस्तै, सवारी चालकलाई उच्च जरिवानाको व्यवस्था गरेर नागरिकमाथि अनावश्यक आर्थिक भार थपिएको र सरकार नागरिकको स्वतन्त्रतामाथि अंकुश लगाउने दिशामा अघि बढेको दाबी विज्ञप्तिमा गरिएको छ।
संगठनले प्रधानमन्त्री शाहमाथि संसद्मा उठेका प्रश्नको जवाफ नदिएको तथा संवैधानिक निकायहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएको छ। साथै, सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दै अन्यथा देशव्यापी आन्दोलनको सामना गर्न तयार रहन चेतावनी दिएको छ।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार













प्रतिक्रिया