काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार पुरानै विभेदकारी, केन्द्रीकृत र अधिनायकवादी सोचबाट अघि बढिरहेको आरोप लगाएका छन्।

शनिबार जारी गरेको वक्तव्यमा महतोले पछिल्लो जनादेशलाई केवल सरकार परिवर्तनको सन्देशका रूपमा नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, विभेद र उपेक्षाविरुद्धको अभिव्यक्ति भएको उल्लेख गरेका छन्। उनले राज्यको संरचना, नीति र सोचमा आमूल परिवर्तन नगरेसम्म उत्पीडित तथा सीमान्तकृत समुदायका आकांक्षा पूरा हुन नसक्ने बताएका छन्।

महतोले सरकारका पछिल्ला नीति तथा निर्णयप्रति आपत्ति जनाउँदै सुकुम्बासी बस्ती हटाउने, सीमावर्ती नागरिकमाथि कडा व्यवहार अपनाउने, समानुपातिक समावेशीकरणको मर्म कमजोर पार्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा करको भार थप्ने कार्यले विभेदलाई झन् संस्थागत गरेको आरोप लगाए।

उनले सरकारले ल्याएको बजेटले बिचौलिया पुँजीवादलाई संरक्षण गरेको दाबी गर्दै किसान, युवा, महिला तथा प्रदेशहरूको हित र आवश्यकतालाई बेवास्ता गरिएको टिप्पणी गरेका छन्।

संविधान संशोधनको बहसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्दै महतोले संघीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

उनले राज्य पुनर्संरचनासम्बन्धी आयोगको बहुमत प्रतिवेदनअनुसार १०+१ प्रदेश र २४ स्वायत्त क्षेत्रसहितको बहुल–राष्ट्रिय राज्य संरचना, न्यायोचित राजस्व बाँडफाँट, प्रभावकारी समानुपातिक समावेशीकरण, प्रादेशिक भाषामा सरकारी सेवा तथा सबै समुदायको समान प्रतिनिधित्व सुनिश्चित नगरी मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे।

महतोले मधेस आन्दोलनलगायत विभिन्न राजनीतिक आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

वक्तव्यमा उनले नेपालको सार्वभौमिकता, जनअधिकार, पहिचान, संस्कृति र स्वशासनमाथि चुनौती बढिरहेको दाबी गर्दै दलगत स्वार्थभन्दा माथि उठेर वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याएका छन्।

लोकतान्त्रिक, पहिचानवादी तथा परिवर्तनकामी शक्तिबीच साझा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै महतोले न्यायपूर्ण, समावेशी र स्वाभिमानी नेपाल निर्माणका लागि राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, युवा, किसान तथा मजदुरलाई साझा अभियानमा एकजुट हुन आह्वान गरेका छन्।

उनले राष्ट्रिय मुक्ति पार्टी नेपाल यस अभियानमा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्न पूर्ण रूपमा तयार रहेको पनि बताएका छन्।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com