एजेन्सी। भियतनामको प्रसिद्ध पर्यटकीय गन्तव्य फु क्वक टापुनजिक भारतीय पर्यटक सवार स्पिडबोट दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जनाको सकुशल उद्धार गरिएको छ भने उनीहरूको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रारम्भिक विवरणअनुसार शनिबार दिउँसो करिब १ बजे ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य बोकेको स्पिडबोट फु क्वक टापुको होन मे रुट न्गोआई क्षेत्रबाट करिब ४०० मिटर अगाडि पुगेपछि प्राविधिक समस्या आएर समुद्रमा पल्टिएको थियो। दुर्घटनापछि सबै यात्रु र चालक दलका सदस्य समुद्रमा खसेका थिए।

भियतनामको तुओइ त्रे समाचार संस्थाका अनुसार एजी–२६७५१ दर्ता नम्बरको उक्त स्पिडबोट मिन्ह हुई फु क्वक ट्रेडिङ एन्ड टुरिजम कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खुलेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा दुर्घटनाको समयमा समुद्रमा तीव्र हावा चलेको, ठूलो छाल उठेको तथा उद्धार टोलीले लाइफगार्ड र जेट स्कीको सहायतामा यात्रुहरूको उद्धार गरिरहेको देखिन्छ।

दुर्घटनापछि सीमा सुरक्षा बलले दुईवटा उद्धार डुङ्गा र ३५ जना सुरक्षाकर्मी परिचालन गरेको थियो। उद्धार अभियानमा नौसेना, तटरक्षक बल तथा अन्य सम्बन्धित निकायसमेत सहभागी भएका थिए।

दुर्घटना भएको होन मे रुट क्षेत्र फु क्वक टापुको आकर्षक कोरल रिफ डाइभिङ स्थलका रूपमा परिचित छ। यहाँ पुग्न पर्यटकहरूले प्रायः स्पिडबोट वा डुङ्गाको प्रयोग गर्ने गर्छन्, जहाँ पुग्न करिब २० देखि ४० मिनेट लाग्ने बताइएको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com