काठमाडौं । तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म निर्माण गरिएको २२० केभी डबल सर्किट प्रसारण लाइनबाट विद्युत् प्रवाह औपचारिक रूपमा सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सक्रिय पहलपछि शनिबार दिउँसो ३ बजेदेखि प्रसारण लाइन सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ। प्रसारण लाइन सञ्चालनमा देखिएको अवरोध हटाउन मन्त्री श्रेष्ठ स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफल तथा समन्वय गरेका थिए।
मन्त्रालयका अनुसार प्रसारण लाइन सञ्चालनमा आएपछि चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् आपूर्ति प्रणाली थप सुदृढ, स्थिर र भरपर्दो बन्नेछ। यसले बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यालाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।
मन्त्री श्रेष्ठले विशेषगरी वर्षायाममा निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाले उत्पादन गर्ने सम्पूर्ण विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा जोड्न यो लाइनले महत्वपूर्ण भूमिका खेल्ने बताए। यसअघि प्रसारण क्षमताको अभावका कारण जलविद्युत् आयोजनाले कम क्षमतामा विद्युत् उत्पादन गर्नुपर्ने अवस्था अब क्रमशः अन्त्य हुने उनको भनाइ छ।
ऊर्जा मन्त्रालयले निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट निर्माण भएको यो प्रसारण लाइनमार्फत हालसम्म पूर्ण रूपमा उपयोग हुन नसकेको स्वच्छ ऊर्जा राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा समावेश हुने जनाएको छ।
मन्त्री श्रेष्ठले यसलाई नेपालको ऊर्जा पूर्वाधार सुदृढीकरण, ऊर्जा आत्मनिर्भरता र दीर्घकालीन समृद्धितर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया