काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी नागरिकको व्यवस्थापनप्रति सरकारको कार्यशैलीको कडा आलोचना गरेका छन्। उनले सुरक्षित आवासको सुनिश्चितता गर्ने सरकारको सार्वजनिक प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने वाचा गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे सरकारसँग जवाफ मागेका हुन्।

उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासी परिवार थप संकटमा परेको उल्लेख गर्दै सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाए। उनका अनुसार सुरक्षित आश्रयको अपेक्षामा रहेका नागरिक अहिले पानी, हिलो, खाद्यान्न अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएका छन्।

नेता भीष्मराज आङ्देम्बेले यस्तो अवस्थालाई राज्यको गैरजिम्मेवारी, संवेदनशीलताको अभाव र कमजोर प्रशासनिक व्यवस्थापनको परिणाम भएको टिप्पणी गरेका छन्। सुकुमवासीसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको उनको आरोप छ।

उनले होल्डिङ सेन्टरमा पुगेका पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न गएका माजिद अन्सारीसहित केही युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि असन्तुष्टि जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा सरकारलाई प्रश्न गर्नु नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई दमन गर्ने प्रयास अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ।

आङ्देम्बेले अन्त्यमा प्रधानमन्त्री शाहलाई सुकुमवासी नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै नागरिकसँग गरिएका वाचा पूरा भए वा नभएको आधारमै सरकारको मूल्याङ्कन हुने बताएका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com