काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई बेवास्ता गर्दै विदेशी व्यक्तित्वको कार्यक्रमलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

भक्तपुरस्थित आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय पहिचान र राष्ट्रियताको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।

उनले नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन सरकारले चासो नदिएको तर दलाई लामाको जन्मजयन्तीका कार्यक्रमलाई अनुमति दिएको भन्दै आपत्ति जनाए।

प्रसाईँले राष्ट्रिय पहिचानको पक्षमा बोल्नेहरूलाई दबाउने प्रयास भइरहेको आरोप लगाउँदै राष्ट्रनिर्माताप्रति अपमानजनक गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही नभएको टिप्पणी गरे।

उनले काठमाडौंका विभिन्न क्षेत्रमा तिब्बती र रोहिंग्या शरणार्थीले आश्रय पाइरहेको उल्लेख गर्दै आफ्नै देशका सुकुम्बासी नागरिक भने विस्थापित हुन बाध्य भएको दाबी गरे। सरकारले नेपाली नागरिकको आवास र जीविकोपार्जनको समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।

प्रसाईँले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर र ट्राफिक जरिवानाको नीतिले सर्वसाधारणमाथि आर्थिक भार बढाएको आरोप पनि लगाए। हालै ट्राफिक जरिवानाको विषयसँग जोडिएको आत्महत्याको घटनालाई उल्लेख गर्दै उनले सरकारले नागरिकको पीडा सम्बोधन गर्न नसकेको दाबी गरे।

पत्रकार सम्मेलनमा उनले आफूलाई सरकारले निगरानी र नियन्त्रणमा राखेर आफ्ना गतिविधि सीमित गर्न खोजेको आरोपसमेत लगाए। साथै, वर्तमान व्यवस्थाविरुद्ध आगामी दसैँभित्र सशक्त आन्दोलन सुरु गर्ने चेतावनी पनि दिए।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com