काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन र सम्बन्धित देशका आधिकारिक निकायले जारी गर्ने निर्देशनको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
राजदूतावासले जारी गरेको सूचनामा स्थानीय सरकारबाट जारी हुने आधिकारिक सूचना र समाचारलाई मात्र विश्वास गर्न तथा अफवाह वा अपुष्ट जानकारीको पछि नलाग्न अनुरोध गरिएको छ। साथै, भ्रम फैलाउने सामग्री सामाजिक सञ्जालमार्फत साझा नगर्न पनि आग्रह गरिएको छ।
राजदूतावासले सम्बन्धित देशका सरकारले प्रतिबन्ध लगाएका कुनै पनि गतिविधिमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता गतिविधिबाट टाढा रहन सचेत गराउन अनुरोध गरेको छ।
कुवेत सरकारले जारी गरेको सुरक्षा निर्देशिकाअनुसार आकाशमा देखिने हवाई आक्रमण, प्रतिरक्षा प्रणाली वा सैन्य गतिविधिसम्बन्धी तस्बिर तथा भिडियो नखिच्न र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि नेपाली नागरिकलाई सचेत गराइएको छ।
त्यस्तै, कुनै पनि अपरिचित वा शंकास्पद वस्तुको नजिक नजान, साइरन बजेमा बाहिर रहेका व्यक्तिले तत्काल नजिकको सुरक्षित भवनमा आश्रय लिन र भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न राजदूतावासले आग्रह गरेको छ। सिसाको झ्याल वा बार्दलीबाट टाढा रहन पनि अनुरोध गरिएको छ।
राजदूतावासले कुनै पनि कन्सुलर सेवा वा आपत्कालीन सहयोग आवश्यक परेमा तत्काल नेपाली राजदूतावास, कुवेतमा सम्पर्क गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार












प्रतिक्रिया