धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकाको पोषणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एकीकृत भान्साघरबाट करिब चार हजार विद्यार्थीले दैनिक गुणस्तरीय दिवा खाजा पाउने भएका छन्।

उपमहानगरपालिकाका अनुसार साउन १ गतेदेखि वडा नं. १ देखि ८ सम्मका २१ सामुदायिक विद्यालयमा यो व्यवस्था लागू हुनेछ। यसअन्तर्गत बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ७ सय ९५ विद्यार्थी तथा वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालय, शान्तिनगरका कक्षा ८ सम्मका सबै विद्यार्थीले केन्द्रीय भान्साघरबाट तयार गरिएको पोषणयुक्त खाजा प्राप्त गर्नेछन्।

यसअघि विद्यालयमै छुट्टाछुट्टै खाजा तयार गरिने व्यवस्था रहेकामा अब एउटै मापदण्डअनुसार केन्द्रीय भान्साघरमा तयार गरिएको खाजा विद्यालयसम्म पुर्‍याइनेछ। यसबाट खाजाको गुणस्तर, सरसफाइ र पोषणमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ।

धनगढी–७ तिल्केचोकमा निर्माण गरिएको भान्साघरको उद्घाटन वडा नं. ७ का अध्यक्ष मोतीराना थारूले गरेका हुन्। कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

उपमहानगरपालिकाले ‘फुड फर लाइफ’ संस्थासँगको सहकार्य, विश्व खाद्य कार्यक्रम (WFP) र नेपाल सरकारको सहयोगमा २ करोड ४५ लाख ३३ हजार २९ रुपैयाँ लागतमा परियोजना सञ्चालनमा ल्याएको जनाएको छ। विश्व खाद्य कार्यक्रमबाट करिब ८६ लाख रुपैयाँ बराबरका सामग्री सहयोग प्राप्त भएको छ भने नेपाल सरकारले दिवा खाजा कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

नगर प्रमुख हमालले आगामी वर्षदेखि यो प्रणाली धनगढीका सबै सामुदायिक विद्यालयमा विस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार शिक्षा र पोषणलाई सँगसँगै अघि बढाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम सफल भए विद्यालयस्तरको दिवा खाजा व्यवस्थापनमा नयाँ नमुना स्थापित हुनेछ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com