काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन उपचार) केन्द्र स्थापना गर्ने योजना तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउन आवश्यक तयारी र योजना अघि बढाउन पनि जोड दिए।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चितताका लागि संघ, प्रदेश सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
स्वास्थ्य सेवा सरकारको प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गर्दै उनले अस्पतालको सरसफाइ, सेवा प्रवाहको गुणस्तर, डिजिटल प्रविधिको विस्तार तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए।
उनले आर्थिक रूपमा विपन्न, असहाय तथा कमजोर वर्गका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत हिस्सा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए।
प्रधानमन्त्री शाहले एउटा स्वास्थ्य संस्थाले अपनाएका सफल अभ्यास र नवप्रवर्तनलाई अन्य संस्थामा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनअनुसार समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास, अस्पतालको सरसफाइ तथा सेवा प्रवाह सुधारका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठानहरूको जग्गा अतिक्रमणले संस्थागत विकासमा पारेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्य सहभागी थिए।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया