काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएका बेवारिसे सवारीसाधनबारे प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। अनुसन्धानका क्रममा हालसम्म मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको एउटा गाडीको प्रारम्भिक विवरण खुलेको छ।

प्रहरी स्रोतका अनुसार बा. १२ च १२५५ नम्बरको उक्त सवारी यातायात व्यवस्था विभागको अभिलेखमा अग्नि इनकर्पोरेट डी प्रालिको नाममा दर्ता रहेको देखिएको छ।

प्रहरीका अनुसार अग्नि इनकर्पोरेट डी प्रालि सवारीसाधनको आधिकारिक विक्रेता कम्पनी भएकाले किस्ताबन्दीमा बिक्री गरिएका गाडीहरूको स्वामित्व अन्तिम किस्ता भुक्तानी नहुँदासम्म कम्पनीकै नाममा कायम रहने व्यवस्था छ। त्यसैले गाडी प्रयोग गरिरहेको वास्तविक व्यक्तिको पहिचान गर्न अनुसन्धान केन्द्रित गरिएको छ।

यातायात व्यवस्था विभागको अभिलेखमा सम्बन्धित गाडीधनीको सम्पर्क नम्बर उपलब्ध नभएकाले कम्पनीमार्फत उक्त सवारी खरिद गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच अन्य सञ्चारमाध्यमका कार्यालयअगाडि पार्किङ गरिएका सवारीसाधनका धनीको पहिचान गर्न बागमती प्रदेशअन्तर्गतका यातायात कार्यालयबाट विवरण संकलन गर्ने प्रयास भइरहेको छ। तर सोमबार ती कार्यालयको सर्भर अवरुद्ध भएका कारण आवश्यक विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाको उद्देश्य, संलग्न व्यक्ति तथा सवारीसाधन प्रयोगको पृष्ठभूमिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com