काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वारअगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

बा ०१–०३४ च ८४८० नम्बरको उक्त सवारीसाधन हालसम्म विक्रेता कम्पनी एसटी मोटर्सकै नाममा दर्ता रहे पनि केही समयअघि रवि जयसवालले खरिदका लागि बुकिङ गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। नामसारी प्रक्रिया भने अझै पूरा भएको छैन।

रवि जयसवाल रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल)का छोरा हुन्। नगरप्रमुख कलवारले पनि उक्त गाडी करिब एक महिनाअघि खरिद गरिएको पुष्टि गरेका छन्।

रवि जयसवाल केही महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका हुन्। रास्वपाले गत जेठ ८ गते उनलाई पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरेको थियो। उनलाई तत्कालीन महामन्त्री भूपदेव शाहले उक्त जिम्मेवारी दिएका थिए।

यसैबीच, सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन प्रहरीले क्रेनमार्फत हटाइसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाको उद्देश्य, सवारीसाधन त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com