काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले वर्तमान सरकारले कार्यकालको पहिलो एक सय दिनमै सुशासनका क्षेत्रमा उल्लेखनीय र सकारात्मक काम गरेको बताएका छन्।
सोमबार रुपन्देहीको भैरहवामा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रियापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले सरकारले सुशासन प्रवर्द्धनका लागि केही महत्वपूर्ण पहल गरेको भन्दै त्यसको सकारात्मक मूल्यांकन गर्नुपर्ने धारणा राखे।
उनले पार्टीभित्र व्यापक रूपान्तरणको आवश्यकता औँल्याउँदै आगामी महाधिवेशनमा राप्रपाको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा पनि गरे।
‘देश पुस्तान्तरणको चरणमा प्रवेश गरिसकेको छ। अब राप्रपाले पनि समयअनुकूल आफूलाई रूपान्तरण गर्नुपर्छ,’ शाहीले भने, ‘त्यसै उद्देश्यका साथ म आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छु।’
शाहीले बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार पार्टीलाई नयाँ सोच, नेतृत्व र कार्यशैलीसहित अघि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार












प्रतिक्रिया