काठमाडौं । नेपाली कांग्रेसले ‘जरा अभियान’ समापनसँगै नयाँ राजनीतिक तथा जनकेन्द्रित अभियान सुरु गर्ने भएको छ। साउन ६ गते ‘जरा अभियान’ औपचारिक रूपमा सकिएलगत्तै साउन ७ देखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियानको घोषणा गरिने पार्टीले जनाएको छ।
४४औँ बिपी स्मृति दिवसको सन्दर्भमा नेपाली कांग्रेस नीति प्रतिष्ठानले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पार्टीका सभापति गगन थापाले कांग्रेस अब केवल घटनापछि प्रतिक्रिया दिने दलका रूपमा सीमित नरही सम्भावित जनसमस्या पहिचान गर्दै समाधानका विषयमा सक्रिय अभियान सञ्चालन गर्ने बताए।
उनले साउन ७ गतेबाट सुरु हुने अभियानले नागरिकका सरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउने र जनतासँग प्रत्यक्ष संवादलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको उल्लेख गरे।
कार्यक्रममा पार्टीका उपसभापति तथा नीति प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ४४औँ बिपी स्मृति दिवसका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला प्रदर्शनी तथा संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए।
उनका अनुसार यस वर्ष कांग्रेसले बिपी स्मृति दिवसलाई जलवायु परिवर्तन र त्यसका प्रभावसँग जोडेर विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो। साथै, साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने उनले बताए।
शर्माले नीति प्रतिष्ठानअन्तर्गत गठन गरिएका ३० वटा विषयगत समितिको गतिविधिबारे पनि जानकारी गराएका थिए।
छलफल कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, काठमाडौं उपत्यकाका जिल्ला सभापतिसहित नीति प्रतिष्ठानका सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार











प्रतिक्रिया