काठमाडौं । हिजो देखी लगातारको वर्षा र पहिरोका कारण जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। बसपार्कलगायत विभिन्न स्थानमा लामो दूरीका सवारी साधन होल्ड गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधन हाल सञ्चालनमा ल्याइएको छैन। हिजो रातिदेखि रात्रिकालीन सवारीसाधनमा रोक लगाइएको थियो भने बुधबार बिहान पनि दिवाकालीन सवारी सञ्चालन हुन सकेको छैन।
नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेकाले सो मार्ग हुँदै हुने आवागमन पनि रोकिएको छ।
फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक पनि बन्द गरिएको छ। कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोका कारण उक्त सडकखण्डमा पनि यातायात सञ्चालन ठप्प भएको छ।
लगातारको वर्षाले सडक यात्रा जोखिमपूर्ण बनेपछि सुरक्षा सतर्कताका रूपमा लामो दूरीका सवारीसाधन सञ्चालन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ। सडकको अवस्था र जोखिमको निरन्तर मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालनबारे निर्णय गरिने कार्यालयले जनाएको छ।
यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको थियो।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया