काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न प्रतिवेदनहरू पेस गर्ने र विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन्। यसका साथै उनले लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) समेत बैठकमा पेस गर्ने कार्यसूची छ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति पाएपछि उनले सोही विधेयक बैठकमा प्रस्तुत गर्नेछन्।
बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री शाहकै तर्फबाट ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव समेत बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया