एजेन्सी। यमनको सशस्त्र विद्रोही समूह हुथीले साउदी अरेबियामाथि मिसाइल आक्रमण गरेको दाबी गरेको छ। साउदी अरबले आफूहरूको नियन्त्रणमा रहेको सना अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको आरोप लगाउँदै हुथीले प्रतिआक्रमण गरेको जनाएको हो।
साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार हुथीले दक्षिणी साउदी क्षेत्रलाई लक्षित गर्दै प्रहार गरेका मिसाइलहरू साउदी हवाई प्रतिरक्षा प्रणालीले आकाशमै अवरोध गरी नष्ट गरेको छ। आक्रमणबाट कुनै ठूलो क्षति वा मानवीय हताहतीबारे तत्काल जानकारी सार्वजनिक गरिएको छैन।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सारीले साउदी अरबको अब्हा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर मिसाइल प्रहार गरिएको बताएका छन्। यमनसँग सीमा जोडिएको दक्षिणी पहाडी क्षेत्रमा अवस्थित अब्हा रणनीतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ।
सन् २०२२ को मार्चमा लागू भएको अनौपचारिक युद्धविरामपछि हुथीले साउदी अरेबियामाथि गरेको यो पहिलो प्रत्यक्ष मिसाइल आक्रमण भएको दाबी गरिएको छ। युद्धविरामअघि भने हुथी समूहले साउदी अरेबियाको ऊर्जा पूर्वाधार तथा तेलसम्बन्धी संरचनामाथि पटक–पटक ड्रोन र मिसाइल आक्रमण गर्दै आएको थियो।
सोमबारको घटनाले चार वर्षदेखि कायम रहेको अनौपचारिक शान्ति अवधिको अन्त्य भएको संकेत दिएको विश्लेषण गरिएको छ। यसले यमन–साउदी सीमावर्ती क्षेत्रमा पुनः सैन्य तनाव बढ्ने र द्वन्द्व चर्किने सम्भावना बलियो बनाएको छ।
विश्लेषकहरूका अनुसार द्वन्द्व पुनः तीव्र बनेमा लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री व्यापार र तेल आपूर्तिमा समेत असर पर्न सक्छ। साउदी अरेबियाले हाल पूर्वी तेल उत्पादन क्षेत्रबाट पश्चिमी तटस्थित लाल सागर बन्दरगाहसम्म पाइपलाइनमार्फत तेल निर्यात गर्दै आएको छ। यस्तो अवस्थामा क्षेत्रीय अस्थिरताले विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यसअघि अमेरिका–इरानबीच बढेको तनावका क्रममा इरानसँग जोडिएका आक्रमणहरूले पनि खाडी क्षेत्रमा सुरक्षा चुनौती बढाएको थियो। पछिल्लो मिसाइल आक्रमणले मध्यपूर्वमा फेरि एकपटक सुरक्षा अवस्था जटिल बन्न सक्ने संकेत दिएको छ।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार













प्रतिक्रिया