काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले बैंक ऋण, वित्तीय मिटरब्याज र बढ्दो बेरोजगारीका कारण मुलुकमा आत्महत्या तथा आत्मदाहका घटना बढ्दै गएको भन्दै सरकारलाई तत्काल संवेदनशील बन्न आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आर्थिक संकटले नागरिकलाई असह्य मानसिक दबाबमा पुर्याएको उल्लेख गरे। उनले गणेश नेपालीको आत्मदाहको प्रसंग उठाउँदै रोजगारीको अभाव र ऋणको भारले युवाहरू निराशाको चरम अवस्थामा पुगेको बताए।
‘गणेश नेपालीको आत्मदाहपछि पनि तीन जना युवाले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘बैंकको ऋण र उच्च वित्तीय ब्याजको मानसिक तनावका कारण दैनिक औसत १८ जनाले ज्यान गुमाउने अवस्था सिर्जना भएको छ। सरकारले यसलाई समयमै सम्बोधन नगरे मुलुक थप गम्भीर संकटमा फस्न सक्छ।’
सांसद भाटले राप्रपाका नेता मजिद अन्सारीमाथि भएको कुटपिट घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरे। दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने उनको भनाइ थियो।
आफ्नो मन्तव्यका क्रममा उनले सन् २०१० मा ट्युनिसियामा भएको आत्मदाहको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। स्थानीय प्रशासनको दुर्व्यवहार र अपमान सहन नसकी २५ वर्षीय मोहम्मद बाउजिजीले आत्मदाह गरेको घटनाले व्यापक जनविद्रोहको रूप लिएको उनले स्मरण गराए।
भाटका अनुसार बाउजिजीको मृत्युपछि सुरु भएको आन्दोलनले ट्युनिसियाको सत्ता परिवर्तन गराएको मात्र होइन, त्यसको प्रभाव इजिप्ट, लिबिया, यमन र सिरियासम्म फैलिएको थियो। ‘जब सरकारले जनताको पीडा र आक्रोशलाई बेवास्ता गर्छ, त्यसको परिणाम निकै गम्भीर हुन सक्छ,’ उनले संसद्मा चेतावनी दिए।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया