काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रलाई नयाँ गति दिने गरी सरकारले तीव्र रूपमा काम अघि बढाइसकेको भन्दै होटल व्यवसायीहरूलाई अब पर्यटन क्षेत्रको भविष्यप्रति चिन्तित नहुन आग्रह गरेका छन्। उनले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रलाई सरकारको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपाल (हान)का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पर्यटन उद्योगलाई मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा अघि बढाइने बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले व्यवसायीहरूलाई कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गराएर कर प्रणालीभित्र ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न आग्रह गरेका हुन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि सहभागी थिए। सो अवसरमा होटल संघ नेपालका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै हाल वार्षिक करिब १२ लाख विदेशी पर्यटक मात्रै नेपाल भित्रिरहेको उल्लेख गरे। उनीहरूले पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सके होटल उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र नेपाली युवाको वैदेशिक पलायन रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र सीमापार पर्यटन (क्रस–बोर्डर टुरिजम) को व्यापक सम्भावना रहेको औँल्याउँदै सरकारसँग विभिन्न नीतिगत सुधारको माग पनि गरेका छन्।
उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउन, २५ शय्यासम्मका होटलका लागि अनिवार्य गरिएको संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा होटल सञ्चालनसम्बन्धी केही कानुनी व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेका छन्।
यस्तै, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन, नेपाल वायुसेवा निगमको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा ट्रेडमार्क प्रयोगसम्बन्धी रोयल्टी व्यवस्थामा संशोधन गर्न पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
होटल व्यवसायीहरूले गन्तव्य विवाहका लागि विदेशबाट गरगहना ल्याउने प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि फोटो र भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’मा आधारित प्रचार सामग्री र विशेषज्ञ जनशक्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया