एजेन्सी । अमेरिकाले इरानमाथि लगातार चौथो रातसम्म हवाई आक्रमण जारी राख्दै इरानी बन्दरगाहतर्फ हुने समुद्री आवागमनमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।
बुधबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य ०.३ प्रतिशतले बढेर प्रतिव्यारेल ८५ अमेरिकी डलर पुगेको छ। यस्तै अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) पनि ०.५ प्रतिशतले उकालो लाग्दै प्रतिव्यारेल करिब ८० अमेरिकी डलरमा कारोबार भएको छ।
अमेरिकी सेनाले मंगलबार इरानमाथि मध्य अप्रिलदेखि दुई महिनासम्म लागू गरिएको नौसैनिक नाकाबन्दी पुनः प्रभावमा आएको जनाएको थियो। यसअघि पनि यही कदमका कारण विश्व बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको थियो।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने सबै मालवाहक जहाजमाथि २० प्रतिशत शुल्क लगाउने प्रस्तावित योजना स्थगित गरेपछि बजारमा केही राहत देखिएको छ। विश्लेषकहरूका अनुसार उक्त योजना कार्यान्वयन भएको भए इरानले पनि सोही समुद्री मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने आधार पाउन सक्ने अवस्था सिर्जना हुने थियो।
दोयचे बैंकका विश्लेषकहरूले भने पछिल्लो मूल्यवृद्धिलाई बजारले अत्यधिक जोखिमका रूपमा नहेरेको बताएका छन्। उनीहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अझै पनि यस वर्षको उच्च स्तरभन्दा तल नै रहेको छ। केही महिनाअघि यही तेलको मूल्य लगातार करिब दुई महिनासम्म प्रतिव्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो।
युद्ध पुनः चर्किएसँगै विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन पनि उल्लेखनीय रूपमा घटेको छ। जहाज ट्र्याकिङ कम्पनी क्प्लरका अनुसार मंगलबार उक्त समुद्री मार्गबाट केवल १७ वटा व्यावसायिक जहाज मात्र आवतजावत गरेका थिए, जबकि युद्धअघि दैनिक औसत करिब १०० वटा जहाज यही मार्ग प्रयोग गर्ने गरेका थिए।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार













प्रतिक्रिया