काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव पुनः तीव्र बनेको छ। अमेरिकाले इरानको तटीय रक्षा प्रणाली र मिसाइल प्रक्षेपण केन्द्रहरूलाई लक्षित गरी हवाई आक्रमण गरेपछि मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बनेको हो।
आक्रमणपछि इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट) आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी सैन्य कारबाही जारी रहे ऊर्जा निर्यात प्रभावित पार्ने चेतावनी दिएको छ। तेहरानले यो द्वन्द्वलाई आफ्नो ‘अस्तित्वको लडाइँ’को संज्ञा दिएको छ।
इरानले युद्ध हर्मुज जलडमरूमध्यमा मात्र सीमित नरही लाल सागर (रेड सी) सम्म फैलिन सक्ने चेतावनी पनि दिएको छ। विश्लेषकहरूका अनुसार यस्तो अवस्था सिर्जना भए यमनस्थित इरान समर्थित हूती विद्रोहीहरूले अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूलाई पुनः निशाना बनाउन सक्ने जोखिम बढ्नेछ।
विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य र लाल सागर दुवै क्षेत्रमा एकैसाथ असुरक्षा बढे अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, समुद्री ढुवानी र विश्वव्यापी आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने अनुमान गरिएको छ।
अमेरिकाले हर्मुज जलडमरूमध्य हुँदै जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उद्देश्यले इरानका तटीय रक्षा संयन्त्र, मिसाइल केन्द्र तथा अन्य सैन्य पूर्वाधारमाथि आक्रमण तीव्र पारेको जनाएको छ।
यता, इरानले पनि छिमेकी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। तेहरानले आफ्ना सर्त स्वीकार नभएसम्म हर्मुज जलडमरूमध्य खुला नहुने अडान दोहोर्याएको छ।
भूराजनीतिक विश्लेषकहरूका अनुसार यदि तनाव थप चर्किएर लाल सागरमा पनि व्यापारिक जहाजमाथि आक्रमण बढे विश्वव्यापी तेल आपूर्ति, ढुवानी लागत र इन्धनको मूल्यमा ठूलो दबाब पर्नेछ। त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा बजार र विश्व अर्थतन्त्रमा देखिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया