काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ।
विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भीमसेन काफ्लेका अनुसार विभागबाट प्राप्त अनुसन्धान प्रतिवेदनमाथि अन्तिम अध्ययन भइरहेको छ। आवश्यक प्रक्रिया पूरा गरी बिहीबार विशेष अदालतमा पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको उनले जानकारी दिए।
उनका अनुसार दीपक भट्टसहित केही प्रतिवादीविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइसकेकाले अहिले थप प्रमाण र अनुसन्धानका आधारमा पूरक अभियोगपत्र पेस गर्न लागिएको हो।
अनुसन्धानका क्रममा पूर्वअर्थमन्त्री पौडेलले स्रोत नखुलेको सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा उनलाई मतियार (सहयोगी) का रूपमा अभियोग लगाउने तयारी गरिएको स्रोतले जनाएको छ।
पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ बराबरको सम्पत्ति, १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबार लाई सम्पत्ति शुद्धीकरणसँग जोडिएको दाबी गरिएको छ।
विशेष सरकारी वकिल कार्यालयले यी सम्पत्ति र कारोबारको स्रोत तथा कानुनी वैधतासम्बन्धी अनुसन्धान प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया