काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) पीडितहरू सरकारसँग औपचारिक वार्ता गर्न बिहीबार काठमाडौं आउँदै छन्। सरकार र पीडितबीच संवादमार्फत समस्या समाधानको पहल सुरु भएपछि दुवै पक्षले वार्ता टोली गठन गरेका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार पीडित पक्षका प्रतिनिधिहरूलाई सिमराबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। गृहमन्त्री सुधन गुरुङको पहलमा वार्ता टोलीका सदस्यहरू राजधानी आउन लागेको सचिवालयले जनाएको छ।
पीडित पक्षले अवधेश कुश्वाहाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा मनोजकुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन्।
उता, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मिटरब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न सरकारी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित सरकारी टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहेका छन्।
सरकार र पीडित पक्षबीच हुने वार्ताबाट मिटरब्याज समस्याको दीर्घकालीन समाधान खोज्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार













प्रतिक्रिया