काठमाडौं । विश्वकप फाइनलले नयाँ विश्वविजेताको मात्र होइन, यस वर्षको प्रतिष्ठित व्यक्तिगत फुटबल पुरस्कार बालोन डी’ओर को सम्भावित विजेताको पनि टुङ्गो लगाउने अपेक्षा गरिएको छ। स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तसँगै लियोनेल मेस्सी र लामिने यमालबीचको व्यक्तिगत प्रतिस्पर्धा पनि विश्व फुटबलको केन्द्रमा पुगेको छ।
यदि अर्जेन्टिनाले उपाधि जितेमा ३९ वर्षीय लियोनेल मेस्सी बालोन डी’ओरका सर्वाधिक बलिया दाबेदार बन्नेछन्। इन्टर मियामीलाई उपाधि दिलाइसकेका मेस्सीले अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउन सफल भए उनी आफ्नो करियरको नवौँ बालोन डी’ओर जित्ने ऐतिहासिक उपलब्धिनजिक पुग्नेछन्।
बालोन डी’ओरको आधिकारिक सामाजिक सञ्जाल खाताले हालै युरोप बाहिरको लिगमा खेल्ने खेलाडीले पनि पुरस्कार जित्न सक्ने नियम पुनः स्मरण गराएपछि मेस्सीको दाबेदारी थप बलियो भएको विश्लेषण गरिएको छ।
यता, स्पेन विश्वविजेता बनेमा १९ वर्षीय लामिने यमाल बालोन डी’ओरको प्रमुख दाबेदारका रूपमा उदाउनेछन्। यसअघि नै ला लिगा जितिसकेका यमालले विश्वकपसमेत जितेमा इतिहासकै सबैभन्दा कम उमेरमा बालोन डी’ओर जित्ने खेलाडी बन्नेछन्।
हालसम्म सबैभन्दा कम उमेरमा उक्त पुरस्कार जित्ने कीर्तिमान ब्राजिलका रोनाल्डो नाजारियोको नाममा छ। उनले २१ वर्ष ३ महिनाको उमेरमा बालोन डी’ओर जितेका थिए। यमालले उपाधि हात पारेमा त्यो कीर्तिमान दुई वर्षभन्दा बढी अन्तरले तोडिनेछ।
यस वर्षको दौडमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री पनि बलिया दाबेदार मानिएका छन्। साथै ह्यारी केन, जुड बेलिङ्घम, किलियन एम्बाप्पे, माइकल ओलिसे र उस्मान डेम्बेलेजस्ता खेलाडी पनि प्रतिस्पर्धामा छन्।
फुटबल विश्लेषकहरूका अनुसार विश्वकप फाइनलको नतिजाले यस वर्षको बालोन डी’ओर छनोटमा निर्णायक प्रभाव पार्नेछ। अर्जेन्टिनाले उपाधि जिते मेस्सीको नवौँ बालोन डी’ओरको सम्भावना बलियो हुनेछ भने स्पेन विजेता बने यमाल विश्व फुटबलको इतिहासमै सबैभन्दा कम उमेरका बालोन डी’ओर विजेता बन्ने अवसरमा पुग्नेछन्।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया