काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपालमा नयाँ पुस्ताको नेतृत्व उदाएको भन्दै नेपाल–जापान सम्बन्धलाई अझ मजबुत, विश्वासिलो र दीर्घकालीन बनाउने जिम्मेवारी अहिलेको नेतृत्वको काँधमा आएको बताएका छन्।

जापान भ्रमणका क्रममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जापान सरकार, जापानी नागरिक तथा लगानीकर्तालाई नेपालप्रति विश्वस्त रहन आग्रह गरे। नेपालले जापानसँगको दीर्घकालीन मित्रता, व्यापारिक साझेदारी र विकास सहकार्यलाई उच्च महत्वका साथ अघि बढाइरहेको उनले स्पष्ट पारे।

सांसद सुनारले शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधारलगायत विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ व्यापक र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

नेपाल वैदेशिक लगानी र नयाँ साझेदारीका लागि खुला रहेको उल्लेख गर्दै उनले जापानी नागरिक तथा व्यवसायीलाई नेपाल भ्रमण, लगानी र सहकार्यका लागि स्वागत रहेको सन्देश दिए।

उनले नेपालमा नेतृत्व परिवर्तन भए पनि नेपाल–जापान सम्बन्धमा कुनै असर नपर्ने स्पष्ट पार्दै जापानी पक्षलाई ढुक्क हुन आग्रह गरे। नेपाल सरकारले जापानी लगानी, विकास साझेदारी र दुवै देशको साझा हितमा भएका सबै सहकार्यको संरक्षण तथा सम्मान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रवासी नेपाली समुदायको योगदानको प्रशंसा गर्दै सुनारले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई सरकारले देशभित्र बसोबास गर्ने नागरिकसरह सम्मान गर्ने नीति अवलम्बन गरेको बताए। विदेशमा रहेर पनि मातृभूमिप्रति समर्पित नेपालीहरूको योगदान राज्यका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले भने, ‘सरकारको दृष्टिमा दैलेख, कालिकोट, जुम्ला, झापा वा मेची–महाकालीका नेपाली जति सम्मानित छन्, विदेशमा रहेका नेपाली पनि त्यत्तिकै सम्मानित छन्। दूरी बढे पनि आत्मीयता झन् गहिरो छ।’

सांसद सुनारले नेपाल सरकार र आफ्नो पार्टीको तर्फबाट जापानमा आयोजित नेपाल फेस्टिभलको सफलताको शुभकामना व्यक्त गर्दै जापानमा रहेका नेपाली समुदायलाई धन्यवाद पनि दिए।

उनका अनुसार जापान प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेसँग भएको भेटमा दुवैले जापानस्थित नेपाली समुदायलाई शुभकामना तथा निरन्तर साथ रहने सन्देश पठाएका थिए।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com