एजेन्सी । इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनी तथा संस्थासँग ४८ वटा विभिन्न सम्झौता, समझदारीपत्र र रणनीतिक साझेदारीमा हस्ताक्षर गरेको छ। तीमध्ये अधिकांश सम्झौता ऊर्जा तथा तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको हो।

प्रधानमन्त्रीको सञ्चार कार्यालयका अनुसार सार्वजनिक र निजी क्षेत्रबीच भएका यी सम्झौताले इराक–अमेरिका आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। ऊर्जा, विद्युत्, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्झौताहरू सम्पन्न भएका हुन्।

सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालयले अमेरिकी बहुराष्ट्रिय कम्पनी एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनसँग सहकार्य गर्ने सहमति गरेका छन्।

यसका साथै इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी परियोजनामा पनि सहकार्य गर्ने समझदारी भएको छ। इराकले अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कसँग देशभर सेवा विस्तार गर्ने सम्झौतासमेत गरेको जनाएको छ।

तेलको अपार स्रोत भए पनि दशकौँदेखि युद्ध, राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी तथा भ्रष्टाचारका कारण इराकको आर्थिक विकास प्रभावित हुँदै आएको छ। पछिल्लो समय मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण तेल निर्यात घटेपछि सरकारी राजस्वमा पनि दबाब बढेको छ।

यही चुनौतीलाई सम्बोधन गर्न सरकारले विदेशी लगानी भित्र्याउने, ऊर्जा पूर्वाधार विस्तार गर्ने र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने लक्ष्यसहित अमेरिकासँग व्यापक आर्थिक सहकार्य अघि बढाएको जनाएको छ।

यसैक्रममा, मङ्गलबार ह्वाइट हाउसमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री जैदीको प्रशंसा गर्दै उनलाई ‘च्याम्पियन’ को संज्ञा दिएका थिए।

व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका जैदी यसै वर्ष अमेरिकी समर्थनमा प्रधानमन्त्री बनेका हुन्। उनले इराकको अर्थतन्त्र सुधार गर्ने, विदेशी लगानी आकर्षित गर्ने तथा अमेरिकी हितविरुद्ध गतिविधि गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई नियन्त्रणमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

इराकले भने लामो समयदेखि आफ्ना दुई प्रमुख साझेदार अमेरिका र छिमेकी इरानबीचको प्रभाव सन्तुलनमा राख्दै कूटनीतिक सम्बन्ध अघि बढाउँदै आएको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com