काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले आफ्नी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) भारतमा क्यान्सरको उपचार गराइरहेको जानकारी दिएका छन्। उपचारका कारण आफू पछिल्लो समय राजनीतिक तथा सार्वजनिक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन नसकेको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी सार्वजनिक गर्दै पोखरेलले मिरा पोखरेलको उपचार भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा भइरहेको उल्लेख गरेका छन्। उनले क्यान्सरको प्रकृतिबारे भने कुनै विवरण सार्वजनिक गरेका छैनन्।
पोखरेलका अनुसार उपचार प्रक्रिया अझै केही समय जारी रहने भएकाले आफ्नो सार्वजनिक उपस्थिति र राजनीतिक गतिविधि पनि केही समय प्रभावित हुनेछन्।
उनले पत्नीको स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छा व्यक्त गर्ने, विभिन्न माध्यमबाट सम्पर्कमा रहने तथा कठिन परिस्थितिमा पनि प्रत्यक्ष भेटेर साथ दिने सबै साथी, शुभेच्छुक र आफन्तप्रति आभार व्यक्त गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘तपाईंहरूको सद्भाव, शुभेच्छा र सहयोगी भावनाले हामीलाई यो कठिन घडीमा निरन्तर हौसला मिलिरहेको छ।’
पोखरेलले उपचार सफल होस् भन्ने कामनासहित सबैको साथ र सद्भावप्रति कृतज्ञता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया