काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्या अर्यालले संसद्लाई प्रभावकारी, जिम्मेवार र जनअपेक्षाअनुसार काम गर्ने संस्थाका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन्। उनले संसद्को भूमिका थप सशक्त बनाउन पार्टी, नेतृत्व र विज्ञहरूको साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘संसद्को भूमिकालाई प्रभावकारी बनाउने’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्यालले वर्तमान परिस्थितिमा संसद्को गरिमा र प्रभावकारिता अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइन्।
उनले विशेष परिस्थितिमा सञ्चालन भइरहेको संसद्लाई पनि विशेष ढंगले परिणाममुखी बनाउनुपर्ने धारणा राख्दै त्यसका लागि सांसदहरूको प्रयास मात्र पर्याप्त नहुने बताइन्।
सरकारको कामकारबाहीप्रति आवश्यक निगरानी राख्दै गलत निर्णय र कमजोरीलाई जनतासामु तथ्यका आधारमा प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिइन्। त्यसका लागि पार्टी नेतृत्व, विषयविज्ञ र सरोकारवालाबाट मार्गदर्शन र सुझाव आवश्यक रहेको उनको भनाइ थियो।
‘सरकार गलत बाटोमा गएको अवस्थामा समयमै खबरदारी गर्दै सही दिशामा ल्याउने र जनतालाई यथार्थ जानकारी दिने गरी हाम्रो आवाजलाई अझ प्रभावशाली बनाउनुपर्छ,’ अर्यालले भनिन्।
उनले संसद्को प्रभावकारिता बढाउन तथ्यमा आधारित बहस, रचनात्मक आलोचना र जनउत्तरदायी भूमिकालाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइन्।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया