काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले एक रुपैयाँको सिक्काको नयाँ डिजाइनबाट नेपालको चुच्चे नक्सा हटाइएको भन्ने विषयप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रावलले यदि मन्त्रिपरिषद्को निर्णयअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाएर अर्को चित्र राख्ने निर्णय गरिएको हो भने त्यसलाई नेपालको भौगोलिक अखण्डतासँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।
सरकारले गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न स्वीकृति दिएको थियो। सार्वजनिक रूपमा आएको विवरणअनुसार एक रुपैयाँको सिक्कामा हाल रहेको नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक लु भ्याकुर (गुम्बा) को चित्र राख्ने तयारी गरिएको बताइएको छ।
यही विषयलाई लिएर रावलले प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिसँग समेत जोड्दै यस्तो निर्णय भएको भए त्यो राष्ट्रहित र नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर कदम हुने टिप्पणी गरेका छन्।
उनले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै जनतामा देखिएको अन्योल तत्काल अन्त्य गर्नुपर्ने बताएका छन्।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्, “यदि सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाउने निर्णय गरिएको हो भने त्यसबारे सरकारले तत्काल सत्य तथ्य सार्वजनिक गर्नुपर्छ।”
उल्लेखित गुम्बा मुस्ताङको मराङ क्षेत्रमा रहेको ऐतिहासिक बौद्ध सम्पदा मानिन्छ। गुरु पद्मसम्भवसँग सम्बन्धित मानिने उक्त गुम्बालाई नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एकका रूपमा चिनिन्छ। सरकारले नयाँ सिक्कामा यही गुम्बाको चित्र समावेश गर्ने तयारी गरेको बताइएपछि त्यसले हाल प्रयोग हुँदै आएको नेपालको चुच्चे नक्सालाई प्रतिस्थापन गर्ने विषय सार्वजनिक बहसको केन्द्र बनेको छ।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया