काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग सोमबार विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे हुने छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।
त्यसैगरी, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, साथै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुधार, नीतिगत परिवर्तनका आवश्यकता र समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुनेछ।
सरकारले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित सरोकारवालाको सुझाव संकलन गर्न यो छलफल आयोजना गरेको जनाएको छ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार













प्रतिक्रिया