नामची । भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा पहिरोले निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ पुरिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। घटनामा अन्य १९ जना मजदुर सुरुङभित्रै थुनिएको आशंका गरिएको छ।
जिल्ला प्रहरी प्रमुख सोनाम डोमा भोटियाका अनुसार उद्धार टोलीले हालसम्म सुरुङबाट आठ जनाको शव निकालिसकेको छ। उनका अनुसार १९ जना अझै सुरुङभित्र फसेको आशंका गरिएको छ।
लगातारको वर्षाका कारण पहिरो गएको क्षेत्रमा उद्धार कार्य प्रभावित भएको छ। खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण प्रारम्भिक चरणमा उद्धारका लागि गरिएका तीन प्रयाससमेत सफल हुन सकेका थिएनन्। रातभर उद्धार अभियान जारी राखिए पनि मंगलबार बिहान मात्रै केही शव निकाल्न सकिएको प्रहरीले जनाएको छ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ–गोलेका अनुसार घटनास्थलमा जिल्ला प्रशासन, प्रहरी, राज्य आपत्कालीन प्रतिक्रिया बल, अग्निनियन्त्रक तथा राष्ट्रिय आपत्कालीन प्रतिक्रिया बलका टोली परिचालन गरिएको छ। उनले उद्धार तथा खोजी कार्यको आफूले प्रत्यक्ष निगरानी गरिरहेको बताएका छन्।
मुख्यमन्त्रीका अनुसार सुरुङभित्र करिब तीन किलोमिटर भित्र मजदुरहरू फसेको आशंका रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
जिल्ला अधिकारी अनुपा ताम्लिङका अनुसार पहिरो जाँदा घटनास्थलमा निजी कम्पनीका १९ जना र राष्ट्रिय जलविद्युत् निगम (एनएचपीसी)का ६ जना मजदुर कार्यरत थिए। उद्धारका लागि सुरुङभित्र प्रवेश गरेका तीन मजदुरमध्ये दुई जना पनि बाहिर निस्कन नसकेको बताइएको छ।
उक्त सुरुङ एनएचपीसीअन्तर्गत निर्माण भइरहेको टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको एक हिस्सा हो।
मुख्यमन्त्री तामाङ–गोलेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले सुरुङभित्र फसेका मजदुरको खोजी तथा उद्धारका लागि सबै उपलब्ध संयन्त्र परिचालन गरिएको र उद्धार कार्य निरन्तर जारी रहेको बताएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया