काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले तयारी पोसाक उद्योगको वर्तमान अवस्था र उद्योगी–व्यवसायीले भोगिरहेका समस्याबारे नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग सोमबार छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।
छलफलमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनका क्रममा देखिएका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँग नियमित संवाद गर्दै आएका छन्। यस्ता भेटघाटमार्फत निजी क्षेत्रका समस्या, समाधानका उपाय र आवश्यक नीतिगत सुधारबारे सुझाव लिने तथा प्राप्त सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया