काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनको प्रमुख आधार कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य रहेको बताएका छन्। उनले मुलुकको परिवर्तन र लोकतन्त्रको सुदृढीकरणका लागि दुवै धारका शक्तिबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले दुवै नेताको योगदान नेपाली राजनीतिक इतिहासमा अतुलनीय रहेको स्मरण गरे।
उनले पुष्पलाल श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासलाई नयाँ दृष्टिकोणबाट व्याख्या गर्ने चिन्तक तथा राजनीतिक साहित्यका गहिरा विश्लेषकका रूपमा चित्रण गरे। पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन र विशेषगरी मजदुर तथा किसानका समस्यासँग जोडेर अघि बढाएको ओलीको भनाइ थियो।
शहीद गंगालाल श्रेष्ठका भाइसमेत रहेका पुष्पलालले आफ्ना दाजुको संघर्षबाट प्रेरणा लिएर जीवनभर सामाजिक तथा राजनीतिक परिवर्तनका लागि संघर्ष गरेको ओलीले स्मरण गरे।
त्यस्तै, ओलीले बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व तथा नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै मुलुकको लोकतान्त्रिक आन्दोलनमा उनको योगदान महत्त्वपूर्ण रहेको बताए।
ओलीले पुष्पलाल र बीपीले आ–आफ्नो राजनीतिक धारबाट नेपालमा परिवर्तनको आधार निर्माण गर्न पुर्याएको योगदानलाई सम्मान गर्दै उनीहरूका सकारात्मक पक्ष र विचारबाट वर्तमान पुस्ताले शिक्षा लिनुपर्ने बताए।
उनका अनुसार निरंकुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने पुष्पलालको प्रस्ताव तत्कालीन समयमा स्वीकार गरिएन। तर, पछि २०४६ सालको जनआन्दोलनमा त्यही सहकार्य परिवर्तनको मुख्य आधार बनेको ओलीले उल्लेख गरे।
‘आन्दोलनले अहिले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घकालीन सोच, दूरदृष्टि र दृढताबाट प्रेरणा लिएर यसलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ,’ ओलीले भने।
उनले बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिक आन्दोलनका लागि सधैँ प्रेरणा र ऊर्जाको स्रोत बन्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया