काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ताप्राप्तिको राजनीतिक अंकगणितले बीपी कोइरालाका विचार तथा कांग्रेसले अंगीकार गरेको राष्ट्रिय मेलमिलापको नीति र समाजवादी दर्शन ओझेलमा परेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आङ्देम्बेले इतिहासले दिएको सन्देशलाई आत्मसात् गर्दै कांग्रेस आफ्नो मूल विचार र सिद्धान्ततर्फ फर्किनुपर्ने आवश्यकता औँल्याए।

उनले बीपी कोइरालाले करिब पाँच दशकअघि नै राष्ट्रियताको रक्षा र लोकतन्त्रको प्राप्ति एकअर्काका परिपूरक भएको स्पष्ट गरेको स्मरण गरे।

‘इतिहासको खबरदारीलाई हामीले गम्भीर रूपमा महसुस गर्नुपर्छ। बीपीले ५० वर्षअघि नै राष्ट्रियताको रक्षा र प्रजातन्त्र प्राप्ति एकअर्काका पूरक हुन् भन्नुभएको थियो,’ उनले भने।

भीष्मराज आङ्देम्बेले कांग्रेसले अपनाएको राष्ट्रिय मेलमिलापको नीति र समाजवादी दर्शन सत्ताप्राप्तिको जोडघटाउमा कमजोर हुँदै गएको बताए। सत्ताको अंकगणितले पार्टीको वैचारिक आधारलाई नै ओझेलमा पार्दै लगेको उनको भनाइ थियो।

उनले राष्ट्रिय मेलमिलापको मूल भावनाअनुसार पार्टीभित्र मात्र नभई समग्र राजनीतिक वृत्तमा एकताको वातावरण निर्माण गर्दै मुलुकको हित र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

‘राष्ट्रिय मेलमिलापअन्तर्गत पार्टीभित्र मात्र होइन, बाहिर पनि एकताको सन्देश प्रवाह गर्दै समग्र मुलुकलाई बचाउनुपर्छ भन्ने सोच सत्ताप्राप्तिको अंकगणितमा थिचिँदै जाँदा हामी विचारविहीन बन्न पुगेका छौँ,’ आङ्देम्बेले भने।

उनले कांग्रेसले आफ्नो ऐतिहासिक विचार, नीति र सिद्धान्तलाई पुनः आत्मसात् गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com