हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तीन जना विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। सत्ता गठबन्धनबाट नेकपा (एमाले) बाहिरिएपछि रिक्त भएका मन्त्रालयमा मुख्यमन्त्री बानियाँले कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई जिम्मेवारी दिएका हुन्।
बागमती प्रदेशमा रहेका आठ मन्त्रालयमध्ये रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्रीहरूलाई बाँडफाँट गरेका हुन्।
जसअनुसार कांग्रेसकी मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि मुख्यमन्त्री बानियाँको नेतृत्वमा रहेको प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्रीले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा शिवराज अधिकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ मन्त्री छन्।
मुख्यमन्त्री बानियाँले नयाँ कार्यविभाजनसहित प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
यसअघि बुधबार नेकपा (एमाले)बाट सरकारमा सहभागी भएका छ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए। एमाले सरकारबाट बाहिरिएसँगै रिक्त भएका मन्त्रालयको जिम्मेवारी कांग्रेसका मन्त्रीहरूलाई दिइएको हो।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया