काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनलाई करदातामैत्री बनाउन निर्देशन दिँदै दबाब र त्रास सिर्जना गरेर नभई करदातालाई सहजीकरण गर्दै स्वैच्छिक कर अनुपालनमार्फत राजस्व संकलन बढाउन आग्रह गरेका छन्।
बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदातालाई सहज वातावरण प्रदान गरेर करको दायरामा ल्याउन निर्देशन दिएका हुन्।
‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘बजारमा कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन र कोही पनि त्रसित छैन भन्ने सुनिनुपर्छ।’
उनले कर प्रशासनका कारण करदाता डराउनुपर्ने अवस्था सिर्जना हुन नहुने बताए। कर संकलनका क्रममा जबर्जस्ती वा त्रासको वातावरण बनाउनुको सट्टा स्वैच्छिक रूपमा कर तिर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।
‘करदाता त्रसित भएर करको दायरामा नआएको कुरा मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेर हिँड्ने अवस्था पनि हुनु हुँदैन,’ अर्थमन्त्री वाग्लेले भने।
कर प्रशासनलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिसम्बन्धी कुनै समस्या भए खुलेर जानकारी गराउन उनले कर्मचारीलाई आग्रह गरे। राज्यलाई अधिकतम लाभ हुने गरी उत्कृष्ट काम गर्ने कर प्रशासकलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले करदातालाई सन्तुष्ट बनाउँदै कर संकलन बढाउने र सरकारले लिएको राजस्व लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिए। ‘करदाता खुसी हुनुपर्यो, कर उठाउनेले सहजीकरण गर्नुपर्यो र राजस्वको लक्ष्य पूरा हुनुपर्यो,’ उनले भने।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशातर्फ मोड्ने आधार तयार गरेको उल्लेख गर्दै आगामी चार वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न चाहेको अर्थतन्त्रको स्पष्ट आधार देखिने बताए।
उनले बजेटमा घोषणा गरिएका कर छुटसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करसम्बन्धी जनचेतना विस्तार गर्न तथा कारोबारलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न आवश्यक पहल गर्न विभागीय नेतृत्वलाई निर्देशन दिए।
नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अपराध नियन्त्रणमा कर प्रशासनको भूमिका पनि महत्त्वपूर्ण हुने बताए। यस विषयलाई कर प्रशासनको दृष्टिकोणबाट समेत सूक्ष्म रूपमा अध्ययन गर्न उनले आग्रह गरे।
कर प्रशासकहरूको वृत्ति विकास उनीहरूको कार्यसम्पादन र राज्यलाई पुर्याएको योगदानका आधारमा प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले कर्मचारीलाई सरुवाका लागि राजनीतिक पहुँच वा सोर्सफोर्स प्रयोग नगर्नसमेत आग्रह गरे।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया